Skip to content

हिमाल साउथएशियन पत्रिका प्रकाशन स्थगन सम्बन्धमा

हिमाल साउथएशियन ले आफ्नो सबै अभिभारा र दायित्व पूरा गरी २०७३ मंसिरमा प्रकाशन स्थगन गर्नेछ ।

हिमाल साउथएशियन पत्रिका प्रकाशन स्थगन सम्बन्धमा

दक्षिण एशियाली 'क्रस–बर्डर पत्रकारिता' गर्ने हिमाल साउथएशियन  पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक 'द साउथएशिया ट्रष्ट' ले खेदपुर्वक जारी गर्दछ । नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण ट्रष्टको कार्यकारी समितिको ६ भदौको बैठकले उक्त निर्णय लिएको हो ।

दक्षिण एशियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्यूरोक्रेसीको विभिन्न अंगमार्फत दबाव दिई हिमाल साउथएशियन लाई बन्द गराइएको हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपाल राज्य दक्षिण एशियामा प्रेस स्वतन्त्रताको हिमायती भए तापनि गत २० वर्षको राजनीतिक अन्योलमाझ राजनीतिक नेतृत्व 'खुला समाज' प्रति निरन्तर उदासीन हुँदै गएकोले प्रेस स्वतन्त्रता कुण्ठित भएको छ ।

धेरै हदसम्म दातृ संस्थाका अनुदानमा भरपर्ने प्रकाशक 'द साउथएशिया ट्रष्ट'ले विद्यमान नियम, कानून अन्तर्गत रही आफ्नो क्रियाकलापहरु गर्दै आएको छ । विभिन्न नियमन निकायका पदाधिकारीहरुले ट्रष्टको क्रियाकलापमा कुनै समस्या नरहेको तर 'माथिको दबाव' का कारण आफू निरीह भएको भन्दै आएका छन् ।

७ महिनाभन्दा बढी भयो– दातृ निकायबाट हिमाल साउथएशियन का लागि स्वीकृत अनुदान प्रयोग गर्न ट्रष्टलाई स्वीकृति दिइएन । अन्तर्राष्ट्रिय पत्रिका हिमाल साउथएशियन मा काम गर्न गैर–नेपाली पत्रकारहरुलाई श्रम स्वीकृति प्राप्त हुन छाड्यो । मुलुक बाहिरका लेखक/स्तम्भकारहरुको पारिश्रमिक पठाउन अस्वाभाविक ढिलाइ हुन थाल्यो । हाम्रो सानो सम्पादकीय र प्रशासनिक टिमले यी र अन्य चुनौतीबीच पत्रिका प्रकाशन निरन्तर गर्न कोशिश गर्‍यो ।